समाचार

८१ वर्षीय सर्वजीतको प्रधानमन्त्रीलाई पत्र- मर्ने कि न्यायका लागि गुहार्नेबाहेक अरू बाटो भएन

Daily News Nepal

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएका ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नो घर छोरीले बेचिदिँदा अन्यायमा परेको भन्दै न्यायका लागि प्रधानमन्त्रीलाई सम्बाेधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निवेदन दिएका छन् ।  

दुई श्रीमतीबाट तीन छोरी रहेका र तीमध्ये कान्छी छोरी कुसुम तामाङले आफ्नो घर बेचिदिँदा अहिले मर्ने कि न्यायका लागि गुहार्नेबाहेक अरु बाटो नभएको भन्दै सर्वजीतले न्यायको याचना गरेका छन् । विश्वास गरेर घर छोरी कुसुमको नाममा राखिदिएको र पछि उही छोरीले आफूलाई जानकारी नदिई घर बेचिदिँदा अन्यायमा परेको उनको गुनासो छ । 

यस्तो छ उनको निवेदनको पूर्णपाठ

श्री सम्माननीय प्रधानमन्त्रीज्यू 

प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं

विषय : न्यायको याचना गरिएको बारे ।

महोदय,

म निवेदक सर्वजीत सिंह तामाङ ८१ वर्षीय ज्येष्ठ नागरिक हुँ । म अन्यायमा परेकोले तपसील बमोजिमको व्यहोरा खुलाउँदै न्यायका लागि यो पत्र लेख्दै गुहार मागेको छु ।

१. मेरा दुई श्रीमतिमध्ये जेठी श्रीमतिबाट एक छोरी र कान्छीबाट दुई छोरी गरेर तीन जना छोरी छन् । जेठी श्रीमतिको एक वर्षअघि निधन भएको हो । कान्छी श्रीमति पहिले नैं पोइल गएकी थिइन् । छोरीहरू आआफ्नो बाटो लागि सकेको कारण म ज्येष्ठ नागरिक अहिले एकल रुपमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएको छु ।

२. मेरा तीन छोरीमध्ये जेठीबाट उर्मिला तामाङ (सबैभन्दा जेठी) र कान्छीबाट उर्गेन तामाङ र कुसुम तामाङ (कान्छी) छोरी छन् । कुसुम लामा प्रभु ग्रुपअन्तर्गतको उच्च ओहदामा कार्यरत छन् । बौद्धमा बस्ने जेठी छोरी उर्मिलाले कहिलेकाँही आएर मेरो हेरविचार गर्ने गर्दछिन्।

३. मेरो जीवनको महत्वपूर्ण समय थाइ एयरवेजको सेवामा बित्यो । थाइ एयरवेजमा भएको कमाइले मैले केही सम्पत्ति जोडेको थिएँ । काठमाडौंको गैरीधारामा जोडेको घरजग्गासमेत बेचबिखन गरी मैले काठमाडौं ४ धुम्वाराहीस्थित घर बनाएको थिएँ । त्यो घर मैले प्रभु बैंकबाट ऋण लिएर बनाएँ । सो ऋण मैले चुक्तासमेत गरेँ ।

४. जीवनमा पारिवारिक खुसी नै सबैभन्दा ठूलो सन्तुष्टि हो । त्यही ठानेर मैले १० वर्षअघि सो घर कान्छी छोरी कुसुम लामा तामाङको नाममा राखेको थिए । किसिमले सहयोग गरेँ । जागिरमा रहँदा युरोप घुमाउन लगें । एउटा विश्वासले मैले कुसुमको नाममा घर राखिदिएँ । तर मेरो जीवनमा तिनै छोरीले घात गरिन् । मलाई थाहै नदिइ सो घरजग्गा बेचिदिइन् । पाँच करोड ६० लाख रुपैयाँमा म बसिरहेको घर एकलौटी रुपमा बेचिदिइन् । मसँग त्यो घरबाहेक कुनै अचल सम्पत्ति छैन । सोही घरको पाचौं तलामा म रहँदै आएकोमा सामान्य केही फर्निचर, लत्ताकपडा र किचेनका सामग्रीबाहेक म सँग केही छैन । सो घरको सुरुको दुई वर्षको भाडा मैले पाएको थिएँ । करिव ८ वर्षदेखिको करिव एक करोड जति घर भाडा मैले पाएको छैन । यतिबेला म घर न घाटको जस्तै भएको छु । आफैले दुख गरेर छोरीको नाममा किनेर राखेके घर अमानविय तरिकाले सडकमै पुग्ने गरी बेचिदिँदा म शारिरिक रुपमा कमजोर र मानसिक रुपमा पनि विछिप्त भएको छु ।

५. आफ्नै सन्तानबारे यी शब्द लेखिरहँदा मलाई अत्यन्तै पीडा महशुस भइरहेको छ । तर नियति यही हो । समय र नियतिले मलाई यो उमेरमा करिब आधा दर्जन मुद्दाको बोझमा जकेडेको छ । म कानुन जान्दिनँ ।

यहाँ मैले भनेको सबै हुनैपर्छ भन्ने छैन । तर मैले न्याय पाउनु पर्छ । मैले जोडेको घर मेरो सहमति बिना बेचबिखन हुन सक्दैन । मैले बनाएको घरको भाडा मैले पाउनुपर्छ ।

६. यतिबेला मेरो घरमा अनधिकृत मानिसहरू आउने तथा थर्काउने गरिरहेका छन् । महानगरिय प्रहरी बृत्त महाराजगञ्जको क्षेत्राधिकारमा पर्ने मेरो घरमा गुण्डाहरु प्रयोग गर्ने, अनधिकृत रूपमा जोकोहीलाई भाडालगाउने जस्ता क्रियाकलाप भइरहेका छन् । म बुढोलाई मानसिक तनाव दिने काम भइरहेको छ । यस्तो अवस्थामा मर्ने कि न्यायका लागि गुहार्नेबाहेक मसँग अरू कुनै बाटो भएन । कानसमेत कम सुन्ने म बुढो न्यायको भिख माग्दै यो पत्र लेख्दै छु । कृपया न्याय गरी म बृद्धको उद्दार गरिदिनु हुनेमा आशावादी छु ।

सर्वजीत सिंह तामाङ

ज्येष्ठ नागरिक (८१ वर्ष)

काठमाडौं ४, धुम्वाराही (पिपलबोट नजिक)

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials