समाचार

फाटफुट केहि तनाव र स्थगीत बाहेक देशभर शान्तिपूर्ण रुपमा मतदान जारी

Daily News Nepal

काठमाडौं । निर्वाचनमा छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

सर्लाहीको गोडैता राति र रौतहटको गुजरामा आज बिहान दुई पक्षबीच झडप भएको छ । सर्लाहीमा एक जनाले ज्यान गुमाएका छन् । ४ जना घाइते छन् । त्यस्तै मकवानपुरको हेटौँडामा चुनाव बिथोल्न खोज्ने ७ जनालाई प्रहरीले बिहान पक्राउ गरेको छ ।

नेकपा बहुमत समूह मकवानपुरका इञ्चार्ज हेटौँडा–१० का ४१ वर्षीय रवि खड्कासहित ७ जनालाई हेटौँडा–१० बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लागिएको छ ।

सिरहामा दुई पक्षका कार्यकर्ताबीच विवाद हुँदा मत पेटिका खोसाखोस भएको छ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।

सिरहाको कर्जन्हा नगरपालिकाका वडा नम्बर–६ मिर्चैयाको जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । स्थितिलाई सामान्य बनाउन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले बताउनुभएको छ । केहीबेर तनाव भएर मतदान स्थगित भए पनि अहिले पुनः मतदान सुरु भएको छ । दोलखाको बैतेश्वर गाउँपालिका–६ र तामाकोशी गाउँपालिका–४ मा विवाद भएको छ । विवादका कारण बैतेश्वरको नाम्दुमा मतदान रोकिएको छ । त्यस्तै तामाकोशी–४ मालुमा पनि विवादले रोकिएको छ ।

कैलालीसहित केही जिल्लाका विभिन्न ठाउँमा पनि शङ्कास्पद वस्तु भेटिएका छन् । तर मतदानमा खासै प्रभाव परेको छैन । देशका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि सुरु मतदान बेलुका ५ बजेसम्म निरन्तर रहनेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजराति ९ बजेदेखि नै मत गणना सुरु गरिने बताउनुभएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials