काठमाडौँ । नेपालबाट वैदेशिक रोजगारीमा गएकी महिलाले नेपाल आएर विदेश पठाउने मेनपावरको व्यक्तिलाई हातपात गरेकी छन् । केपी इन्टरनेसनल ओभरसिजबाट कुवेतमा पठाइएका महिला कामदारले मेनपावर सञ्चालक निर्मलराय अमातलाई हातपात गरेकी हुन् ।
ती महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । त्यही उजुरी उपर छलफल गर्न भनी वैदेशिक रोजगार विभागमा कम्पनीका सञ्चालक निर्मलराय बोलाइएको थियो ।
विभागको कार्यकक्षमा उपस्थित भइ उजुरीका बारेमा छलफल हुँदै गर्दा उजुरीकर्ताका मानिस हौँ भनी विभिन्न अपशब्द प्रयोग गरी सञ्चालक निर्मलराय अमातलाई हातपात, कुटपिट र गालीगलौज गरिएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ ।
‘वैदेशिक रोजगार विभागमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको समन्वयमा वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको समस्या समाधानका लागि उजुरीकर्ता र कम्पनीका सञ्चालक बीच वैदेशिक रोजगार विभागमा छलफल हुँदै गर्दा असम्बन्धित, अनाधिकृत व्यक्तिहरू प्रवेश गरी सञ्चालकलाई गालीगलौज, कुटपिट र हातपात हुनु र वैदेशिक रोजगार विभागले यस्तो गैरकानुनी कार्य गर्नेहरूलाई कुनै पनि कारबाही नगर्नु गम्भीर र आपत्तिजनक रहेको छ ।
यस्तो गैरकानूनी कार्य गर्नेहरूलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न सङ्घ सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं’, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ ।