Business

मध्यपहाडी लोकमार्ग कालोपत्रेका काममा माटो मिसिएको बालुवा प्रयोग

Daily News Nepal

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तरगत भोजपुर–दिक्तेल सडक खण्ड, खोटाङको कालोपत्रेको काममा गुणस्तरहिन सामग्री प्रयोग भएको पाइएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले फागुन २५ गते गरेको निरिक्षणका क्रममा ठाउँ–ठाउँमा कम गुणस्तरको सव–वेस तयारी अवस्थामा राखिएको र ढलानका क्रममा माटो मिसिएको बालुवा प्रयोग गरेको पाइएको हो । 

खोटाङभित्र पर्ने चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभी काठ्माडौंले कजवे निर्माणका क्रममा स्टाण्डर्ड विपरितको बालुवा प्रयोग गरिरहेको भेटिएको जिल्ला समन्वय समितिका प्रमुख राईले बताए । निर्माण कम्पनीलाई कम गुणस्तरको निर्माण सामग्री हटाउन तथा माटो मिसिएको बालुवा प्रयोग गरेर निर्माण गरिएको स्ट्रक्चर भत्काएर पुःन गुणस्तरको बालुवा प्रयोग गरेर काम गर्न निर्देशन दिइएको छ । निर्माण कम्पनीलाई स्टाण्डर्ड स्पेसीफिकेसन फर रोड एण्ड ब्रिज वर्कस्, २०७३ अनुसार गुणस्तरको निर्माण सामग्री प्रयोग गर्न पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकको लेटरहेडमा कागज गरिएको छ । 

भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाहीले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोश्रो म्याद २०७८ असार १३ र तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते मै नाघिसकेको थियो । 

आफ्नो प्रतिवद्धतामा चुक्दै ठेकेदार  

१२ औं संशोधन अन्तरगत सो आयोजनाको म्याद आगामी असार मसान्तसम्म थप भएको छ । तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण थप म्यादभित्र सडक कालोपत्रेको काम सम्पन्न हुने अवस्था नदेखिएको प्रमुख राई बताउँछन् ।

ढिलासुस्ती भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले ठेक्का तोड्नका लागि गत मंसिर १८ गते सडक विभाग समक्ष सिफारिस गरेपछि काम सुचारु गरेको ठेकेदार कम्पनीले चैत पहिलो साताबाट डिबिएसटीको काम सुरु गर्ने र बैसाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको थियो । तर ठेकेदारले आफ्नो ‘सेड्युल’ अनुसार काम नगरेको प्रमुख राईले बताए ।

पंखु खोला पुल निर्माणको काम पुःन रोकियो 

यस्तै, मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको पंखु खोला पुल निर्माणको काम रोकिएको छ । म्याद नाघेको वर्षौं वितेपछि सुचारु भएको पुलको काम पुःन रोकिएको हो । पंखु खोलामा अबुटमेन्ट र लिफ्ट ढलान गरेको तर हाल निर्माणस्थलमा निर्माण सामग्री डण्डी, गिटी, बालुवा र सिमेन्ट नदेखिएको र निर्माण कार्य रोकिएको देखिएको जिसस प्रमुख राईले बताए ।

निर्माण कम्पनीलाई तत्काल आवश्यक निर्माण सामग्री ल्याएर पुलको काम सुचारु गर्न निर्देशन दिइएको छ । यस्तै, छेपे खोला र मेवा खोलाको पुल निर्माणको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिवद्धता जनाएका छन् । 

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials