Diaspora

एनआरएनएका अध्यक्षसहितको प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

Daily News Nepal

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्ड र परराष्ट्रमन्त्री डाक्टर विमला राई पौडेलबीच भेटवार्ता भएको छ ।

भेटमा विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा अध्यक्षत्रयले दूतावास वा नियोग नहुँदा त्यहाँ रहेका नेपालीले भोग्नुपरेका समस्याहरुबारे जानकारी गराउँदै मन्त्री पौडेललाई समस्या समाधानका लागि आग्रह गर्नुभएको हो ।

नियोग वा दूतावास नभएका तथा नेपालीहरुको बढी घनत्व भएका देशमा गैरआवासीय नेपाली संघको सुझावमा मानार्थ प्रतिनिधि (Honorary Consul) नियुक्त गर्न अध्यक्षत्रयले मन्त्री पौडेललाई सुझाव दिनुभएको छ ।

भेटमा संघकी कार्यकारी अध्यक्ष रबिना थापाले मन्त्री पौडेलसमक्ष संघका तर्फबाट भइरहेका सामाजिक, परोपकारी कार्यसहित आर्थिक सामाजिक र सांस्कृतिक क्षेत्रमा संघले गरेको योगदानबारे मन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो ।

यस्तै, संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संघले नेपाल कानून आयोगसँग विभिन्न चरणमा छलफल गरी दिएका सुझावहरुलाई सम्बोधन गरी कानून ल्याउनको लागि पहल गर्न अनुरोध गर्नुभयो ।

अध्यक्ष केसीले गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरी आएका नेपालीलाई गैरआवासीय नेपालीको परिचय दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र समेट्नुपर्ने आग्रह समेत गर्नुभयो । सो क्रममा, अध्यक्ष केसीले नेपाल सरकार द्वारा जारी गरिएको नेपाली परिचयपत्र लिएका गैरआवासीय नेपालीहरुलाई स्वदेश भित्र हवाई यात्रा गर्दा विदेशी नागरिक सरह व्यवहार गर्ने गरेको भन्दै नेपाली नागरिक सरहको समान हवाई यात्रा, हवाई भाडा लगायतको व्यवस्था गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता विधेयकलाई मूर्तरुप दिन मन्त्री पौडेलसमक्ष आग्रह गर्नुभयो ।

अध्यक्ष आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसँग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्न समेत मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष आचार्यले विदेशमा रहेका नेपालीहरु स्वदेशमा लगानीका लागि उत्साहित भएपनि विभिन्न नीतिगत अप्ठ्याराले समस्यामा परेको जानकारी गराउँदै अन्तरमन्त्रालयगत समन्वय गरेर परराष्ट्र मन्त्रालयले समस्या समाधानका लागि पहल गरिदिनुपर्नेमा जोड दिनुभयो । गैरआवासीय नेपालीहरु नेपालको समृद्धी र विकासको साझेदार बन्न सदैव उत्साहित रहेको अध्यक्ष आचार्यको भनाई थियो ।

सो अवसरमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुले नेपालका लागि गरेको योगदान प्रशंसनीय भएको भन्दै त्यसका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

मन्त्री पौडेलले कानूनी र नीतिगत विषयमा परराष्ट्र मन्त्रालयले मात्रै नभई अन्तर मन्त्रालयगत सहकार्य र समन्वय र क्याबिनेटको भूमिका समेत महत्वपूर्ण हुने भएकोले आवश्यक अध्ययन, परामर्श र समन्वय गरेर गैरआवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नागरिकताको विषय समेत यही संसदबाटै टुंगिने विश्वास व्यक्त गर्दै उहाँले गैरआवासीय नेपाली नागरिकतामा कुनै समस्या नभएको जिकिर गर्नुभयो । दूताबास र नियोग नभएका स्थानमा नयाँ दूतावास वा नियोग राख्ने वा हाल सञ्चालनमा रहेका दूतावासलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने भन्नेमा सरकारले छलफल गरेर मात्रै निर्णय गर्ने मन्त्री पौडेलको भनाई थियो ।

मानार्थ प्रतिनिधि नियुक्त गर्दा गैरआवासीय नेपाली संघको सुझाव लिने विषय अत्यन्त सकारात्मक भएकोले त्यस सम्बन्धमा आफूले पनि पहल गर्ने उहाँको भनाई थियो । सरकार गैरआवासीय नेपालीमा मागप्रति सकारात्मक रहेको भन्दै मन्त्री पौडेलले संवैधानिक प्रावधान अनुसार सबै समस्या समाधान हुनेमा विश्वस्त हुन आग्रह समेत गर्नुभयो ।

भेटमा संघको संशोधित विधान तथा संघका तर्फबाट हालसम्म भएका कामहरु, सरकारका तर्फबाट भएका नीतिगत सम्बोधन, र आगामी दिनमा गर्नेपर्ने कानूनी र नीतिगत सुधार लगायतका विषय समेटिएको सुझावपत्र र समेत बुझाइएको छ । यस्तै आगामी अक्टोबरमा हुने संघको विश्व महाधिवेशनका लागि समेत सहकार्यका लागि संघले मन्त्री पौडेललाई आग्रह गरेको छ ।

भेटका अवसरमा संघका अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका महिला सचिव राधिका गुरुङ, प्रवक्ता सोम सापकोटा युवा संयोजक अब्दुल वसिद, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, पूर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, एनसीसी टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ, लगायतको उपस्थिति रहेको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials