समाचार

रामपुरमा गाउँबस्तीबाटै सामाजिक भत्ता वितरण

Daily News Nepal

रामपुर । रामपुर नगरपालिका-१ का ७५ वर्षीय शेयरबहादुर खाण एक दिनको समय बिताएर बैंकमा पालो पर्खेर भत्ता सामाजिक सुरक्षा बुझ्ने गर्थे । उनलाई भत्ता बुझ्न रामपुर बेझाडस्थित बैंकमा नपुगेसम्म अर्को विकल्प थिएन ।

बैंकमा पालो पर्खेर रकम लिन उनले निकै समस्या झेल्नुपर्थ्यो । अहिले भने घण्टौँ समयसम्म बैंकमा पुगेर भत्ता बुझ्ने झन्झटबाट खाण मुक्त भएका छन् पाल्पाको रामपुर नगरपालिकाले गाउँ बस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेपछि उनी औधी खुसी छन् ।

“बैंकमा धेरै समय लगाएर पालो पर्खेर भत्ता बुझ्नुपर्ने, गाउँको बाटो गाडीमा आउन जान निकै समस्या, भत्ता बुझ्ने समय आएपछि बैंकसम्म कसरी पुग्ने भन्ने समस्याले निकै पिरोल्थ्यो, अब गाउँबाट भत्ता पाइने भएपछि हामी ज्येष्ठ नागरिकलाई आनन्द भयो”, उनले भने ।

आर्थिक अवस्था नाजुक भएका र शारीरिक रूपमा कमजोर बनेका नागरिकलाई गाडीमा धेरै रकम खर्चेर बैंकमा आवतजावत गर्न समस्या छ । वडा नं १ का स्थानीयले रामपुरको बेझाड बजारसम्म बैंकमा पुग्न मात्रै एकतर्फी रु. दुई सयदेखि रु. तीन सयसम्म गाडी भाडामा खर्चनुपर्छ ।

बैंकमा भत्ता बुझ्न जान भनेको समयमा गाडी नपाउनु, पानी परेका समय गाउँका कच्ची सडक बन्द हुने, गाउँमा पाकापुस्ताको मात्रै बसोबास रहेकाले बैंकसम्म पुगेर भत्ता बुझ्ने कार्य ज्येष्ठ नागरिकलाई सास्ती छ । कतिपय परिवारमा अशक्त, ज्येष्ठ नागरिक, बिरामी व्यक्तिलाई बैंकसम्म लैजाने आफन्त नहुँदा उनीहरूले अप्ठ्यारो परिस्थितिमा निकै कष्टसँग भत्ता बुझ्न विवश थिए ।

गाउँबाट भत्ता बुझ्न पाउने व्यवस्था रामपुर नगरपालिकाले गरेपछि स्थानीय सरकार साँच्चिकै जनताको सरकार रहेको अनुभूति भएको खगिसरा खाम्चा बताउँछन् । यसअघि भत्ता बुझ्न पाउँदाको खुसीभन्दा पनि कसरी बैंकसम्म पुगेर घर फर्कने भन्ने पिरोल्ने गरेको खाम्चाको भनाइ छ ।

जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार भएकाले उनीहरूलाई आफ्नै गाउँ ठाउँबाट सेवा दिने उद्देश्यले गाउँबस्तीबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए । “नगरपालिकाको दूरदराजमा रहेका नागरिकलाई भत्ता बुझ्न आवतजावत गर्न सहज बनाउन नगरको केन्द्रदेखिका टाढाका वडामा गाउँबस्तीबाटै भत्ता वितरण थालनी गरेका छौँ”, उनले भने, “वडाका पायक पर्ने स्थानमा नगर सरकारले भत्ता वितरण सुरु गरेको छ ।”

नगरको वडा नं १ को चार स्थानबाट भत्ता वितरण भइरहेको छ भने दसैँ अगावै वडा नं १० मा पनि गाउँबस्तीबाटै सामाजिक सुरक्षा भत्ता वितरणको काम सक्ने, दसैँ पछाडि वडा नं ९ मा वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित बाल पोषण भत्ता गाउँबाटै बुझ्न पाउँदा स्थानीय उत्साहित छन् । नगरपालिकाले वडा-वडाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि कृषि विकास बैंक शाखा कार्यालय रामपुरसँग सम्झौता गरी गाउँ बस्तीमा कर्मचारी खटाएर काम गरिरहेको रामपुर–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता कपिलबहादुर खाणले बताए । भत्ता वितरण गर्नुअघि कृषि विकास बैंक रामपुर शाखाले वडाका विभिन्न टोल बस्तीमा पुगेर बैंक खाता खोल्ने काम सम्पन्न भएपछि मात्रै भत्ता वितरणको काम सुरु भएको हो । नगरपालिकाले बैंकको पहुँचदेखि टाढा रहेका वडाबाट यस अभियानको थालनी गरेको छ ।

जनताको घरदैलोमै सरकारको अनुभूति दिलाउन रामपुर नगरपालिकाले गरिब, विपन्न परिवारलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा, घर तथा भवन निर्माणको क्षेत्रमा कार्यरत मजदुर वर्गको सुरक्षालाई मध्यनजर गर्दै मजदुर दुर्घटना बीमा, ज्येष्ठ नागरिक सम्मान, घर-घरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, घरपरिवार, श्रीमान्को हिंसामा परेका महिलालाई राहतलगायतका विभिन्न सामाजिक कार्यमा जोड दिएर काम गरेको छ । रामपुर नगरपालिकाले पाल्पाका १० स्थानीय तहमध्ये भिन्न तरिकाले जनतालाई प्रत्यक्ष फाइदा पुग्ने खालका सामाजिक कार्यका गतिविधि अगाडि बढाएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials