समाचार

ताप्लेजुङको हिमाली बस्तीमा याक र चौँरीलाई हिउँदका लागि ‘खुराक’ जोहो गर्ने चटारो

Daily News Nepal

ताप्लेजुङ । ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई याक र चौँरीलाई घाँसको जोहो गर्ने चटारो लागेको छ। हिउँदमा हिमपात हुने हुँदा उनीहरू चौँरी र याकका लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन्।

ओलाङचुगोलावासी प्रत्येक वर्ष असोज ३ गतेको दिन घाँस काट्ने पर्वकै रूपमा लिने गरेको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ। चौँरी याकपालक परिवार सबै मिलेर एक ठाउँमा घाँस संरक्षण गरेका हुन्छ। त्यस क्षेत्रमा कसैले पनि चरन गर्न पाउँदैन। संरक्षण गरेपछि हुर्किएका घाँसलाई परिवार नै मिलेर घाँस काट्ने गर्दछन्। पशुपालक सबै परिवार जुटेर घाँस सङ्कलन गर्ने गरिएको र चार–पाँच दिनसम्म सुकाएर आ–आफ्नो घर गोठमा भण्डारण गरेर राख्ने गर्दछन्। राम्ररी सुकाएर घर–गोठमा भण्डारण गरेर राखेको घाँस हिमपातको अवधिभर याक र चौँरीलाई खुवाउने पर्ने स्थानीय बताउँछन्।

हिमाली बस्तीका बासिन्दाको मुख्य पेसा नै याक र चौँरीपालन हो। कात्तिक अन्तिमदेखि चैतसम्म नै करिब पाँच महिना बढी हिमपात हुने भएकोले अहिले हिउँदे घाँसको जोहो गर्न थालेको स्थानीयले बताएका छन्। हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि चरन क्षेत्रमा हिउँले ढाक्ने र त्यसबेला याक र चौँरीका लागि घाँसको अभाव हुने फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ शेर्पाले जानकारी दिए।

उनका अनुसार हिउँले चरन क्षेत्र ढाक्ने हुँदा हिमपातको मौसममा चौँरी र याकलाई खुवाउने घाँस यही बेला जोहो गर्नुपर्ने बाध्यता छ। हिमपातले गर्दा चरन क्षेत्रको अभाव हुने भएकै कारण हिउँदको मौसममा याक र चौँरी बचाउनलाई अहिले अनिवार्य हिउँदे घाँसको जोहो गर्नुपर्ने अवस्था रहेको ओलाङ्चुङगोलाकै अर्का स्थानीय छेतेन फिन्जो शेर्पाले बताए।

स्थानीयले सामूहिकरूपमा घाँस सङ्कलन गर्ने गरी घाँसे क्षेत्रको संरक्षण गर्दै आएको र हाल सोही क्षेत्रमा स्थानीय सबै जुटेर घाँस सङ्कलन गरिरहेको फुपुफुटी शेर्पाले बताए। विगतदेखि नै ओलाङ्चुङगोलाका याक र चौँरी पालक किसानले संरक्षण गर्दै आएको घाँसे क्षेत्रमा घाँस सङ्कलन गर्ने गरिएको उनले बताए।

कुनै वर्ष हिमपातको मौसम लम्विने हुँदा यतिबेला भण्डारण गरेर राखेको घाँस नै थोर–थोरै खुवाएर भए पनि याक र चौँरीको प्राण बचाउने गरिएको ओलाङ्चुङगोलाका स्थानीय छिरिङ दोर्जे शेर्पाले बताए। मुख्य पेशा र आम्दानीको प्रमुख स्रोत नै याक तथा चौँरी पालन भएकाले ओलाङ्चुङगोलासहित याङ्मा, तोक्पेगोला, फले र घुन्सा क्षेत्रका बासिन्दा हिउँद र बर्खा नै याक र चौँरीको गोठ सम्हाल्ने गर्छन्।

साढे दुई वर्षदेखि कोरोना महामारीका कारण तिब्बततर्फ याक र चौँरी बिक्री नभएकाले सङ्ख्या पनि बढेको र हिमपातको मौसममा खुराक पुर्‍याउनलाई समेत हैरानी हुने उनीहरूको भनाइ छ। हाल ओलाङ्चुङगोला क्षेत्रमा मात्र सातवटा जति याक र चौँरीको गोठ छन्। उक्त गोठमा करिब साढे ४०० याकको सङ्ख्या रहेको स्थानीयले बताएका छन्।

मिक्वाखोला गाउँपालिकाको तोक्पेगोला क्षेत्रमा ३५ वटा याक र चौँरीका गोठ रहेको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामाले बताए। उनका अनुसार तोक्पेखोला क्षेत्रमा दुई हजार बढी याक र चौँरी छन्। त्यस्तै याङ्मा, फले र घुन्सा, सिदिङवा गाउँपालिकाको कालीखोला, सिरिजंगा गाउँपालिकाको याम्फुदी क्षेत्रका समुदाय याक पालनमै आत्मनिर्भर हुँदै आएका छन्।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials