AJAYKUMAR SHAH
कला र साहित्य

जनकपुरधाममा महामूर्ख सम्मेलन सुरु

Daily News Nepal

काठमाडौँ । जनकपुरधाममा दुई दिने होली महोत्सव २०७९ सुरु भएको छ । हिजाे सोमबार मिथिला नाट्य कला परिषद् जनकपुरधामको आयोजनामा सुरु भएको होली महोत्सवको पहिलो दिन लोप भइरहेको होलीको जोगिरा गीत प्रतियोगिता सम्पन्न भएको हाे ।

डेढ दर्जन होरैया समूहको सहभागिता रहेको होली महोत्सवमा विभिन्न जिल्लाका होरैया समूह सहभागी थिए । होली महोत्सवमा सहभागी भएका होरैया टोलीलाई मिथिला नाट्यकला परिषद्ले पुरस्कृत पनि गर्दै आएको छ । प्रथम, द्वितीय तथा तृतीय हुने समूहलाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गर्ने गरिन्छ ।

होली महोत्सवको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलगायतले संयुक्तरूपमा गरेका थिए ।

जानकी मन्दिरको प्राङ्गणमा सुरु भएको दुई दिने कार्यक्रमअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ । दुई दिवसीय होली महोत्सवअन्तर्गत आज मङ्गलबार आयोजना हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रूपमा रहेको हो । महामूर्खको उपाधिका लागि विभिन्न व्यक्ति दौडमा रहेको मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकले बताए ।

महासचिव मल्लिकका अनुसार दोस्रो दिन आज विशिष्ट शैलीमा उद्घाटन, मिनापको हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुती, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गरिने बताए ।

विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेकपा (एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

विसं २०७३ मा सप्तरीको मलेठमा नेकपा (एमाले)ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो । विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो ।

त्यस्तै विसं २०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ सालमा अर्थविद डा भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials