Politics

मन्त्रीज्यूसँगै विवाद भएपछि भीड अनियन्त्रित भयो : प्रहरी महानिरीक्षक कुँवर

Daily News Nepal

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले बालकुमारी घटनामा त्यति ठुलो मानवीय तथा भौतिक क्षति हुनुका पछाडि प्रहरीमात्रै दोषी नभएको दाबी गरेका छन् । उनले आक्रोशित भीडले प्रदर्शन गरिरहेका बेला मन्त्रीको सवारी हुनु र मन्त्रीले भीडसँग विवाद गर्नुले पनि परिस्थिति असहज बनेको बताए ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले प्रहरीसँग सीमित श्रोत साधन र जनशक्ति भएका कारण भीड नियन्त्रणमा समस्या भएको बताए ।

‘युवाहरू प्रदर्शनमा रहेको बेला नै मन्त्रीको सवारी हुँदा समस्या भयो । मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय हुनुपर्ने थियो । भीडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद पनि भयो,’ आइजी कुँवरले भने, ‘त्यसकारण पनि समस्या भयो, नभए यति ठूलो क्षति हुने थिएन ।’

उनका अनुसार भीड नियन्त्रणकारलागि प्रहरीले अश्रुग्याँस १२४ सेल, रबर बुलेट र हवाइ फायर गरेको थियो । उपयुक्त समयमा प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएको र भीडमा परेपछि प्रहरीले पनि धैर्यता गुमाएको अवस्था देखिएको आइजी कुँवरले बताए ।

‘प्रदर्शनकारीहरूको नेतृत्व कोही थिएन, अराजक रूपमा जसले जे पायो, त्यही गर्ने अवस्था थियो, झन् ठूलो क्षति नहोस् भनेर नै प्रहरीले पूर्वसतर्कता अपनाएर गोली चलाउन बाध्य भएको स्थिति देखिन्छ,’ उनले भने ।

भीडमा कति बेला गोली चल्यो र कति बेला घाइते भएको भन्ने यकिन हुन नसकेको कुँवरले बताए । उनका अनुसार ईपीएस कार्यालयमा युवाहरूको आन्दोलनलाई लक्षित गरेर पहिल्यै २१५ नेपाल प्रहरी र ७५ जना सशस्त्र प्रहरी खटाइएको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials