Politics

श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन

Daily News Nepal

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।

श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी दुई दिने अन्तरक्रियामा प्रधानमन्त्री ‘प्रचण्ड’ले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिएका हुन्।

सरकारले पहिलो पटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नु परेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो। कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ।

अन्तरक्रियामा प्रधानमन्त्री ‘प्रचण्ड’ले पछिल्लो समय आन्तरिक रोजगारीमा देखा परेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले देशको युवा जनशक्तिलाई रोजगारी सिर्जनाको क्षेत्रमा सहयोग पुर्‍याएको बताए। उनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरू ठगीमा पर्ने, मानव अधिकारको प्रत्याभूति र समयमै राहत उद्धार हुन नसक्नु र कार्यस्थलका विभिन्न प्रकारका जोखिममा पर्नु लगायतका समस्याहरूको सामना गरिरहेको भन्दै यसको सम्बोधनमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले कुनै पनि नेपाली नागरिक विदेशी भूमिमा समस्यामा परेको बेला कूटनीतिक नियोगहरूले गुनासो सुनुवाइ गरेनन् भन्ने अवस्थाको अन्त्य गर्न निर्देशन पनि दिएका छन्।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कार्य सुरुवात भइसकेको जानकारी पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले गराएका छन्। 

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials