Politics

उग्र बन्दै रवि लामिछानेका समर्थक

Daily News Nepal

काठमाडौं । लोकतन्त्रमा मन परेका व्यक्तिलाई साथ दिने र स्वस्थ आलोचना गरेने अधिकार सबैलाई छ । तर पछिल्लो समय सामाजिक सञ्जालमार्फत स्वस्थ आलोचना गर्नेहरुलाई नै श्रद्धान्जली दिने खराब परम्परा मौलाएको छ ।

खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आलोचना गर्नेहरुले ‘रिप रियाक्ट’ पाउने त सामान्य नै भइसक्यो । स्वयं सभापति रवि लामिछानेलाई आफ्ना समर्थकको यो हर्कत मन परेको छैन ।

उदाहरणः १ रवि लामिछानेविरुद्ध मुद्दा हालेका युवराज सफलमाथि प्रहरी कार्यालय अगाडी नै आक्रमण प्रयास

उदाहरणः २ चितवनकी मतदाता सृजना मल्लमाथि सामाजिक सञ्जालमा गाली बेइज्जती

उदाहरणः ३ रास्वपा सभापतिको आलोचना गरिएका पत्रपत्रिका जलाउने हर्कत

उदाहरणः ४ रास्वपा सभापतिमाथि प्रश्न उठाउने र आलोचना गर्नेलाई श्रद्धाञ्जली

यी र यस्ता दर्जनौं घटना रास्वपा सभापति रवि लामिछाने स्वयंलाई थाहा छ । चुनावी माहोल बनाउन दिनरात खटिरहेका लामिछाने आफ्ना समर्थकको भेडा प्रवृत्तिबाट दिक्क देखिन्छन् । र त बाध्य भएर हात जोड्दै यस्ता हर्कत नगर्न विनय गर्नुपरेको छ ।

सभापति लामिछाने मात्रै हैन नेता मनिष झा पनि यस्ता हर्कतबाट वाक्क देखिन्छन् । झाले सोमबार बिहान सामाजिक सञ्जाल मार्फत कार्यकर्तालाई चार बुँदे आग्रह नै गर्नुभयो ।

१. अपशब्द प्रयोग नगर्नु

२. पत्रपत्रिका जलाउने काम नगर्नु

३. हामी एक–अर्काको प्रतिस्पर्धी हौ, दुस्मन हैन

४. हामी जिते पुग्छ, अरू सबै हार्न आवश्यक छैन

२०६२–०६३ को १९ दिने जनआन्दोलनमा लाखौं नेपालीले गरेको योगदान र बलिदानले प्राप्त आजको गणतन्त्रमा सबैले सबैको स्वच्छ आलोचना र समर्थन गर्न पाइन्छ । तर आलोचनाको बदला श्रद्धान्जली अर्पण गर्न कहाँ पाईन्छ ? नपाइने काम नै भइरहेको छ । चितवन–२ की मतदाता सृजना मल्लले मंसिर ४ मा रविलाई जिताए पनि अव साथ दिन नसकिने अभिव्यक्ति दिनुभयो । उक्त भिडियो सामाजिक सञ्जालमा आएसँगै सृजनाको होस नै उड्नेगरी विरोधमा कमेन्ट आए । अधिकांश विरोधीको त प्रोफाइल नै खुल्दैनन् । छद्‍म एकाउण्टबाट आएका श्रद्धान्जलीसहितका कमेन्टले सृजनालाई बेचैन बनायो ।

त्यसो त रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा दर्ता गराएका अधिवक्ता युवराज पौडेलमाथि प्रहरी कार्यालयमै हुलहुज्जतको प्रयास भयो । रविविरुद्ध रिट हालेको भन्दै आफुलाई युट्युबर बताउने र पत्रकार हुँ भन्दै गरेको यो हर्कतले त लोकतन्त्रलाई झनै गिज्यायो ।

सामाजिक सञ्जालमा रविविरुद्ध आलोचना गर्नै नपाइने हो ? २०६३ पछि माओवादीविरुद्ध आलोचना हुँदा वाइसीएलले जसरी अरिंगालले घेरेझै गर्थ्यो, त्यो भन्दा कम छैन अहिलेको अवस्था । रवि स्वयंले विनम्रतापूर्वक यस्तो नगर्न आग्रह गर्नुपरेको छ । तर पार्टीले अराजकताविरुद्ध अपिल गर्न चाँही किन नगरेको ? प्रश्न गर्नै नपाउने यो कस्तो समाज निर्माणको अभ्यास गरिंदै छ ।

अरु सबैमाथि प्रश्न गर्न पाइने तर रास्वपा र उसका सभापतिमाथि प्रश्न सुन्नै नचाहने कस्तो भिड जम्मा पारिंदै छ । लोकतन्त्र यही हो जहा विरोध र समर्थन बराबर हुन्छ र गलतलाई सच्याउने हिम्मत दल र दलका नेतासँग हुन्छ । साँघुरो सोच त र विरोधको निषेध त पञ्चायतमा पनि थियो । रविले समयमै यस्ता हर्कत रोक्न सक्नुभएन भने आगामी दिन उहाँकै लागि गलपासो हुने निश्चित छ । समयमै ध्यान दिन नसके पश्चाताप बाहेक केही बाँकी रहनेछैन । र त्यो भिडले निम्त्याउने अराजकताको जिम्मेवारी पनि उहाँ स्वयंले लिनुपर्ने छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials