Politics

परराष्ट्रमन्त्री र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

Daily News Nepal

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरूको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका छन्।

उनले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो आग्रह गरेका हुन्। मन्त्री साउदले कोहेनसँग ‘समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु। त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ’ भनेका छन्।

उनले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे।

मन्त्री साउदले भने,‘ महामहिमज्यू, अब हामीले मृतकहरूको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ। थोरै ढिलाइले पनि घरपरिवारका सदस्यहरूमा झन् पीडा थप्ने छ तसर्थ शवहरू नेपाल फिर्ताका लागि आवश्यक पहल गरिदिनुहोस्।’

उनले आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गरे।

‘इजरायलका अस्पतालमा ४ जना नेपालीको उपचार भइरहेको छ। उहाँहरूको उचित स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि आग्रह गर्दछु,’ मन्त्री साउदले भने,‘एक जना नेपाली अझै सम्पर्कविहीन हुनुहुन्छ, उहाँको अवस्था पत्ता लगाउन इजरायल सरकारसँग सम्पूर्ण सहयोग गरिदिन पनि नेपाल सरकार अनुरोध गर्दछ।’

मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थानान्तरण गरेका नेपाली नागरिकहरूलाई खानापनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे।

‘अहिलेसम्म अन्य नेपाली सुरक्षित अवस्थामा रहेका जानकारी पाएका छौँ। यद्यपि, उहाँहरूमध्ये धेरै जना बङ्करमा बसिरहनुभएको जानकारी प्राप्त भएको छ,’ संवादका क्रममा उनले भने,‘उहाँहरू खाना र पानी जस्ता आधारभूत आवश्यकताका लागि निरन्तर साथीभाइ र परिवारलाई फोन गरिरहनुभएको छ। यस विषयमा पनि उचित सहयोगका लागि हामीले इजरायल सरकारसँग आशा गरेका छौँ।’

बङ्करमा बसेका केही नागरिकहरूले सुरक्षित वासस्थानका लागि आग्रह गरिरहेका पनि मन्त्री कोहेनलाई जानकारी गराए। ‘यीमध्ये केही व्यक्तिले अर्को सुरक्षित वासस्थानका लागि आग्रह गर्नुभएको छ’साउदले भने,‘हाम्रो दूतावासले तपाईँका अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहनुभएको छ। उहाँहरूको सुरक्षित क्षेत्रमा स्थान्तरणका लागि तपाईँहरूको सहयोग महत्त्वपूर्ण छ।’

मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकहरूको विवरण सङ्कलन गरिरहेको र विवरण सङ्कलन भएपछि सहजीकरणको लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्ने पनि बताए।

साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यबद्ध रहेको पनि बताए।

इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतङ्ककारीको संज्ञा दिँदै उनीहरूको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेको प्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्य लाभको कामना गरे। कोहेनले अहिले इजरायल कठिन मोडमा रहेको बताए।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials