Politics

सर्वदलीय बैठक सम्पन्न, सहकार्यका साथ अघि बढ्न प्रधानमन्त्रीद्वारा आग्रह

Daily News Nepal

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक इस्युहरुमा सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ ।

मंगलवार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उहाँले सो आग्रह गर्नुभएको हो ।

राष्ट्रियता लगायतका सबै राजनीतिक इस्युहरुमा सहकार्यका साथ अघि बढ्न बैठकमा प्रधानमन्त्रीले सबै दलहरुलाई आग्रह गर्नुभएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले तटस्थताको भुमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पदको चयनबारे पनि छलफल गरेर अघि बढ्न सकिने खुला धारणा राख्नुभएको उहाँको भनाइ थियो । सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्नुभयो, ‘देशमा हुने सम्पूर्ण राजनीतिक इस्युहरुमा सहमतिका प्रयत्नहरु भइराख्नु पर्छ । सहमतिका साथ अगाडि बढ्नुपर्छ भन्ने भावहरु प्रधानमन्त्रीले राख्नुभयो । त्यसलाई सबैले सकारात्मक रुपमा लिनुभयो । एउटा सद्भाव बैठक जस्तो गरेर आजको बैठक टुंगियो । राष्ट्रिय इस्युसहितका सम्पूर्ण विषयहरुमा के गर्न सकिन्छ भनेर एक खालको ओपन दृष्टिकोण प्रधानमन्त्रीले राख्नुभएको थियो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखबारे यही गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको धारणा थिएन । समय क्रममा सबै राजनीतिक इस्युहरुमा सहमतिका साथ अगाडि बढ्नुपर्छ । जस्तो राष्ट्रियताको इस्युहरु हुन्छन् । सीमा समस्याका इस्युहरु हुन्छन् । अरु पनि थुप्रै इस्युहरु हुन्छन् । अब तपाईहरुले भनेजस्तौ तटस्थताका विभिन्न पदहरुको इस्युहरु पनि हुने भए । ती सबै विषयहरुमा छलफल, सहकार्य गरेर सहमतिको आधारमा अगाडि बढ्नुपर्छ भनेर भन्नुभयो । अहिले सम्माननीय प्रधानमन्त्रीज्युको यस्तो समय रह्यो कि जसले यो संसदबाट असाधारण बहुमत प्राप्त गर्नुभयो । त्यसका निम्ति उहाँले सबै दलहरुलाई धन्यवाद भन्नु त उहाँको दायित्व र कर्तव्य पनि हो । उहाँले विशेषतः त्यही भन्नुभयो । अरु सबै दलहरुले पनि सकारात्मक धारणा राख्नुभएको थियो । एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको पनि धारणा सकारात्मक थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा सत्तारुढ दलको नेता, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहनुभएको ओलीले सबै राजनीतिक दलहरुलाई उहाँले पनि धन्यवाद भन्नुभयो ।’

बैठकमा एमाले अध्यक्ष केपी ओलीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको भन्दै सत्तारुढ दलहरुको तर्फबाट सबै राजनीतिक दलहरुलाई धन्यवाद समेत दिनुभएको थियो । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी संसदमा प्रमुख प्रतिपक्षको भुमिकामा रहेको उल्लेख गर्दै राष्ट्रिय इस्युहरुमा भने सहमति गरेर अघि जान तयार रहेको धारणा राख्नुभएको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials