Politics

संसदमा कामकाजभन्दा गत्यावरोध बढेको छ : अध्यक्ष ठाकुर

Daily News Nepal

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली काँग्रेसको पदाधिकारीसम्मको जिम्मेवारी रही तीन दशकभन्दा बढी योगदान पुर्‍याएका छन् ।

विसं २०१६ मा राजनीतिक यात्रा आरम्भ गरेका उनी मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा धेरै पटक प्रहरी हिरासत र जेलजीवन बिताए ।

गत एक वर्षमा समग्रतामा सङ्घीय संसद् चलिरहेको देखिए पनि कामकाजभन्दा गत्यावरोधमा बढी समय खर्चिएको जनाउँदै उनले पुरापुर दुई महिना सांसदले काम नै गर्न नसकेको प्रतिक्रिया दिए ।

नेपालमा प्रजातान्त्रिक अभ्यास लामो नभएको र पटक–पटक अवरोध भएको इतिहास रहेको जनाउँदै पूर्व उपसभामुख ठाकुरले भने, “कसैलाई चित्त बुझेन भने विरोध गर्न सकिन्छ तर दिनदिनै लामो समयसम्म रोष्टम घेराउ गर्ने भनेको संसदीय प्रजातन्त्रभित्रको उग्र रूप हो ।” कानुन बनाउने विषयमा दलहरूले आवश्यक समय र ध्यान दिएन भनी लागेको आरोप भने अस्वीकार गर्दै नेता ठाकुर त्यो ‘आरोप’ मात्रै भएको बताए ।

उनले भने, “संविधान र सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने महत्त्वपूर्ण विधेयकसमेत यस अवधिमा अघि बढ्न सकेन । मिटर ब्याजसम्बन्धी विधेयक पारित भए पनि पीडित अझै खुशी छैन । विधेयक भरसक सबैको सहमतिमा टुङ्ग्याउँदा राम्रो हुन्छ ।

एक प्रसङ्गमा शान्तिपूर्ण जुलुस निकाल्ने र सडकमा प्रदर्शन गर्ने सबैको प्रजातान्त्रिक अधिकार भए पनि तोडफोड गर्ने उग्र रूप भएको बताउँदै उनले भने, ‘सरकारबाट पनि हिंसात्मक हस्तक्षेप हुन्छ, विरोधमा उग्र रूप देखिए सरकारले नियन्त्रणका लागि सशस्त्र बल प्रयोग गर्छ अनि असहज स्थिति आउँछ, त्यो सबैले बुझ्नुपर्छ । ‘

केही समय भारतमा निर्वासनसमेत रहनुभएका पूर्व उपसभामुख ठाकुर पछिल्ला दशक मधेस र मधेसी समुदायका हकहितका ‘एजेन्डा’ उठाउँदै कार्यान्वयनका लागि पहल गरिरहेका छन् । उनी सँग शिक्षण र वकालतको अनुभव, निष्ठाको राजनीतिको पर्याय र समानताको पक्षधरको परिचय छ ।

महोत्तरीको पीपरामा विसं १९९९ मा जन्म भई केही समय सर्लाहीलाई कर्मथलो बनाउनुभएका ठाकुर विसं २०४८ / २०५१ को मध्यावधि निर्वाचनमा त्यहाँबाट प्रतिनिधित्व गरे ।

तराई मधेस आन्दोलनपछि काँग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी स्थापनासँगै मधेस केन्द्रित राजनीतिमा सक्रिय नेता ठाकुर विसं २०७४ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठन गर्नुभई सो पार्टीको अध्यक्ष मण्डलको सदस्य भए ।

विसं २०६४ मा मनोनीत संविधान सभा सदस्य तथा विसं २०७४ / २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भए । कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर ठाकुरले विसं २०७४ पछि गठन भएको प्रतिनिधिसभामा ज्येष्ठ सदस्यका रूपमा केही समय सभाको अध्यक्षता गर्दै सदनमा प्रवेशी सदस्यलाई शपथ दिलाएर र बैठक सञ्चालन गरे ।

छ वर्षमा बल्लबल्ल ‘पास’ भएको नागरिकता विधेयक कार्यान्वयनमा गए पनि जनताले अझै सहजरुपमा नागरिकता प्राप्त गर्न नसकेको गुनासो सुन्न परेको बताउँदै पूर्व मन्त्री ठाकुरले कर्मचारी संयन्त्रको उल्झन र पैसाको चलखेलले त्यो गुनासो आएको प्रतिक्रिया दिए ।

अध्यक्ष ठाकुरका अनुसार मुलुकमा लोकतन्त्र पुनः स्थापनापछि गाउँ बस्तीमा सेवा सुविधा र सडकलगायत भौतिक पूर्वाधार निर्माणमा निकै सुधार भएको छ । विद्यालय र कलेजमा पैसा गएको छ । गाउँ गाउँमा सामुदायिक भवन बनेका छन् । ग्रामीण सडक पनि ढलान र कालोपत्र भएका छन् । धार्मिक आस्थासँग जोडिएका मठमन्दिर तथा स्थान घेरा बेरा भएको छ ।

पछिल्ला वर्षमा तराई–मधेसमा समेत सिँचाइ र खानेपानी समस्या देखिएको बताउँदै पुराना राजनीतिज्ञ ठाकुरले खण्डित वर्षाले कहीँ सुक्खा त कहीँ बाढी निम्त्याएको अवस्था आएको सुनाए ।

सांसद ठाकुरले भने, “यस वर्ष मिथिला क्षेत्रमा बर्सात कम हुँदा नदी र पोखरी सुक्ने अवस्थामा पुगिसकेको छ । जमिनमा पानीको सतह गहिरिएको छ । कतिपय सहरी क्षेत्रमा खानेपानी अभाव छ भने खोला सुकेका कारण सिँचाइ भई धान खेती राम्रो हुन सकेन ।”

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials