काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार पहिलो त्रैमासिकमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा यस चौमासिकमा शोधनान्तर स्थितिमा सुधार देखिएको हो । गत वर्ष सो समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा समेत यस अवधिमा शोधनान्तर स्थिति १४ करोड ९६ लाखले बचतमा छ । समीक्षा अवधिमा गत आर्थिक वर्षमा १ अर्ब २७ करोडले घाटामा थियो ।
चालु आर्थिक वर्षको पहिलो दुई महिना शोधनान्तर स्थिति घाटामै थियो । त्यसयता भने निरन्तर सुधार देखिएको छ । यस अवधिमा चालु खाता भने ३५ अर्ब ४० करोडले घाटामा छ ।
अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा चालु खाता २ खर्ब २० अर्ब ९१ करोडले घाटामा थियो । अमेरिकी डलरमा चालु खाता २८ करोडले घाटामा छ । समीक्षा अवधिमा अघिल्लो वर्ष अमेरिकी डलरमा १ खर्ब ८६ अर्ब घाटामा थियो ।