काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारको नामावली २४ गतेभित्र पठाउन राजनीतिक दललाई पत्र पठाएको छ ।
समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरी पठाउन दलहरूलाई पत्र पठाएको आयोगको समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
राजनीतिक दलको केन्द्रीय वा सो सरहको समितिले बन्दसूचीबाट उम्मेदवारको नाम सिफारिस गरेर पठाउन पत्राचार गरिएको उहाँले बताउनुभयो ।
समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत नघाएका दलहरूलाई यसअघि बुझाएको बन्दसूचीबाट नाम छनोट गरेर पठाउन पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।
राजनीतिक दलबाट विवरण प्राप्त भएपछि रुजु गरिने र विवरण नमिलाई पठाएको भए फेरि २ दिनभित्र विवरण बुझाउन पत्राचार गरिने प्रवक्ता वाग्ले बताउनुभयो ।
राजनीतिक दलले महिला, आदिवासी जनजाति, खसआर्य, थारू, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुनेगरी यसअघि आयोगमा बुझाएको बन्दसूचीबाट छनौट गर्नुपर्छ ।