काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली हस्तकलाको विकास र बिस्तार गरी हस्तकला क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
शुक्रवार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औं हस्तकला व्यापार मेलामा बोल्दै मन्त्री श्रेष्ठले हस्तकलाको क्षेत्रमा देखिएका समस्या समाधान गरी हस्तकलाको विकास र बिस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।
उहाँले नेपाली बेरोजगार युवाहरुलाई हस्तकलाको सीप सिकाएर नेपालमा नै व्यवसाय गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले युवाहरुलाई नेपालमा नै हस्तकलाको व्यवसाय गर्ने वातावरण बनाउँदा रोगजारी मात्रै नभएर अर्बौं रुपैयाँको विदेशी मुद्रा नेपालमा भित्र्याउन सकिने बताउनु भयो ।
मन्त्री श्रेष्ठले हस्तकलाका सामग्री विदेशमा निर्यात हुँदा मुलुकको व्यापार घाटा न्युनिकरण गर्नको लागि हस्तकला क्षेत्रले ठूलो योगदान गरिरहेको बताउनु भयो । उहाँले ग्रामिण क्षेत्रका युवालाई हस्तकला सीप सिकाएर हस्तकलाका वस्तु उत्पादनमा वृद्धि गर्नेतिर ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।
मन्त्री श्रेष्ठले नेपाली क्यालेण्डरमा राखेर वर्षमा एक पटक अन्तराष्ट्रिय स्तरको हस्तकला सम्बन्धि व्यापार मेला आयोजना गर्नसके पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनु भयो ।
उहाँले नेपाल पर्यटन बोर्डलाई वार्षिक रुपमा अन्तर्राष्ट्रिय स्तरको हस्तकला मेला आयोजनाका लागि महासंघसँग सहकार्य गर्न आग्रह गर्नुभयो ।