काठमाडौं । मेलम्ची आयोजनाले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा भोलिदेखि पानी वितरण गर्ने भएको छ ।
मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार गत १८ गते काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो ।
प्रशोधित पानी आज साँझसम्म महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना रहेको उहाँले बताउनुभयो । भोलि बिहान पानी औपचारिक रुपमा घर–घरको धारहरूमा पठाइनेछ । पानी सबै स्थानमा भने एकै पटक नपठाइने पनि उहाँले प्रष्ट पार्नुभयो ।
सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ । उपत्यकाको आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जेलगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको छ ।
भोलि बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी वितरण सुरु गर्ने जानकारी कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।
२०७८ असारको बाढीले क्षतविक्षत भएको मेलम्चीको हेडवर्क्सलाई अस्थायी रुपमा व्यवस्थापन गरेर पानी ल्याइएको हो ।
सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो । बाढीले मुहान क्षति गर्ने सम्भावनाका कारण सुरुङको मुख बन्द गरिएको थियो ।