काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उपसभामुखमा निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो । विपक्ष दलका सांसदहरुले समेत उठाएका इस्युहरुलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने बताउनुभएको हो ।
उपसभामुख रानामगरले संविधानले दिएको अधिकार भित्र रहेर संसदको कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताउनु भयो । नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उहाँको भनाई थियो ।
उपसभामुख रानामगरले भन्नुभयो, ‘नेपालको संविधानले व्यवस्था गरेको भुमिकालाई म इमान्दारिताकासाथ निभाउने छु । गठबन्धनदेखि लिएर विपक्ष पार्टीका सम्पूर्ण माननीयज्युहरुलाई उठाएका इस्युलाई एकदम इमान्दारिताका साथ तटस्थ भएर सम्माननीय समामुखज्युसँग सहकार्य गरेर उहाँलाई सहजीकरण गर्ने र अझ प्रभावकारी र मर्र्यादित र सुसंस्कृत गर्ने काम हुन्छ । उपसभामुखले धेरै काम गर्नुपर्ने जस्तो लागेको छ । आम जनताको हक, अधिकारलाई निडर र अविचलित भएर मैले कार्य गर्नेछु । तटस्थ र इमान्दारिताका साथ सबैको पक्षमा बोल्नेछु ।’
उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढ्ने समेत बताउनु भयो ।