काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ ।
गृहमन्त्री लामिछानेले संसदमा आफूसँगै उपस्थित एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले प्रेस विज्ञप्ती निकाल्न लगाएर केटाकेटीपन प्रदर्शन गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
शनिवार प्रतिनिधि सभा बैठकको शुरुवातमै बोल्दै सांसद खतिवडाले अपराधीलाई पक्राउ गर्नुको साटो प्रेस विज्ञप्ती निकाल्दै जाने हो भने यसको मुलुकलाई कुन अवस्थामा पु¥याउने हो भने पनि प्रश्न समेत गर्नुभयो । उहाँले के गृहमन्त्री लामिछानेलाई प्रहरीले टेर्न छोडेको हो भन्दै तत्काल त्यसको जवाफ समेत माग गर्नुभयो ।
सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानबिनको विषय पनि संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गर्नुभयो । उहाँले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँटने, छल्ने काम नगर्न पनि सचेत गराउनु भयो ।