विभागीय टोली त्रिभुवन आर्मी क्लवका दीपक अधिकारी र एपिएफकी फुलमती रानाले शनिवार दशरथ रंगशलामा सम्पन्न दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल भेटेरिनरी एशोसिएशनले आयोजना गरेको राइट टु प्रोटिन रन हाफ म्याराथनमा पुरुषतर्फ दीपकले निर्धारित दूरी १ घण्टा ५ मिनेट ८ सेकेण्डमा पूरा गर्दा महिलातर्फ फुलमतीले निर्धारित दुरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
दुवै खेलाडीले एकएक लाख रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेण्डले पछि पार्दै दोस्रो स्थान हाँसिल गरे । राजनले १ घण्टा ५ मिनेट १४ सेकेण्डमा पूरा गरेका थिए । नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने । चौथो बनेका तीर्थ पुनले १ घण्टा ६ मिनेट ९ सेकेन्डमा उक्त दूरी पूरा गर्दा आर्मीका शुसील कुमार शाहीले १ घण्टा ८ मिनेट ४ सेकेण्डमा पूरा गर्दै पाँचौं स्थानमा रहे ।
यस्तै महिलातर्फ दोस्रो भएकी नेपाल पुलिस क्लवकी राममाया बुढा फुलमती भन्दा पाँच सेकेण्डले पछि परिन् । राममायाले निर्धारित दूरी १ घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरेकी हुन् । यस्तै तेस्रो भएकी त्रिभुवन आर्मी क्लवकी पूर्णलक्ष्मी न्यौपानेले निर्धारित दूरी १ घण्टा २३ मिनेट १० सकेण्डमा पूरा गरिन् । आर्मीकै कल्पना खड्काले १ घण्टा २७ मिनेट १२ सेकेण्डमा पूरा गर्दै चौथो बन्दा पुलिसकी अञ्जु खड्काले १ घण्टा ३२ मिनेट १३ सेकेण्डमा पूरा गर्दै पाँचौं बनिन् ।
यस्तै १० किमी पुरुष दौडमा सबै पाँचै स्थानमा आर्मीका धावकको वर्चश्व रह्यो । मुकेश पालले निर्धारित दूरी ३० मिनेट ५६.०१ सकेण्डमा पूरा गर्दै पहिलो बन्दा, गजेन्द्र राईले ३१ मिनेट ०.२९ सकेण्डमा पूरा गर्दै दोस्रो, सुवास कार्कीले ३१ मिनेट ७.२० सकेण्मा पूरा गर्दै तेस्रो, सिकास राईले ३१ मिनेट १४.१५ सेकेण्डमा पूरा गर्दै चौथो र मोहन देव जोशीले ३२ मिनेट २०.२३ सेकेण्डमा पूरा गर्दै पाँचौ भए ।
शनिवारै सम्पन्न महिला ५ किमी खुल्ला प्रतिष्पर्धामा आर्मी गीता बिक पहिलो बन्दा आर्मीकै निर्मला केसी दोस्रो, एपिएफकी सीमा चौधरी तेस्रो, पुलिसकी बीर्सना कुमार चौथो र एपिएफकी आशा रावत पाँचौ भए । यस्तै ५ किलोमिटर पुरुष स्कुलतर्फ सञ्जिव नेपाली, श्याम मग्राती, हिमराज गुरुङ, विकेश घिमिरे र बादल कार्की क्रमश पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ बने । ३ किलोमिटर महिला स्कुलतर्फको प्रतिस्पर्धामा कल्पना बुढा पहिलो बन्दा, हिमाली शाही दोस्रो, दिपशिखा शाही तेस्रो, लक्ष्मी साउद चौथो र अमिसा राई पाँचौ बने ।
यस्तै पुरुष ह्विल चियर पुरुषतर्फ प्रेम बहादुर विक पहिलो बन्दा, रामकाजी मिजात दोस्रो, सोमनाथ राई तेस्रो, दिपक श्रेष्ठ चौथो र अर्जुन दोङ पाँचौ भए । महिला ह्विल चियरमा रजनी राई पहिलो हुँदा यामी झाक्री मगर दोस्रो, जोनिसा कठायत तेस्रो, प्रेमा गुरुङ चौथो र निर्मला भण्डारी पाँचौ भए ।
एक दिने प्रतियोगितामा ५ हजार भन्दा बढी धावकले विभिन्न विधामा सहभागिता जनाएका थिए । आयोजकले हरेक विधाका शीर्ष पाँचमा अटाउने सबै धावकलाई नगद पुरस्कारसहित शिल्ड प्रदान गरेको छ र विजेता सबैलाई प्रधानमन्त्री पुष्पकमल दाहालले दशरथ रंगशालामा आयोजना भएको एक कार्यक्रममा पुरस्कार वितरण गरे । यस्तै कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरुको पनि उपस्थिति रहेको थियो ।