एजेन्सी । इरानमा सरकार विरोधी आन्दोलनमा संलग्न एकजनालाई मृत्युदण्ड दिइएको छ ।
गत सेप्टेम्बरदेखि सुरु भएको विरोध प्रदर्शनको क्रममा एकजना सरकारी सेनालाई घाइते बनाएको भन्दै इरान सरकारले मोहसेन शेकरीलाई मृत्युदण्ड दिएको हो ।
गत सेप्टेम्बरमा आन्दोलनको क्रममा तेहरानको मुख्य सडक अवरुद्ध गरेर अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाउने अपराधमा संलग्न रहेको आरोप उनीमाथि लगाइएको थियो ।
गत अक्टुबर २३ मा शेकरीलाई मृत्युदण्डको सजाय सुनाइएकोमा आज मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।
इरानमा मुस्लिम समुदायका महिलाले लगाउने हिजाबसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ पर्नुभएका महसा अमिनिको प्रहरी हिरासतमा मृत्यु भएपछि आन्दोलन सुरु भएको हो ।
आन्दोलन सुरु भएदेखि पहिलोपटक इरान सरकारले प्रदर्शनमा संलग्न आन्दोलनकारीलाई मृत्युदण्ड दिएको हो । जसको विश्वव्यापी रुपमा विरोध सुरु भएको छ ।